काठमाडाै- मौसम परिवर्तन हुने क्रममा हामीलाई घाँटी दुख्नु, चिसो लाग्नु सामान्य कुरा हो, मनसुन र गर्मीको बीचको मौसमले हाम्रो स्वास्थमा नकारात्मक प्रभाव पार्छ।
तर रुघा–खोकी नै लाग्यो भने चाहिँ तपाईंले चाँडोभन्दा चाँडो त्यसको उपचार गराउनु नै उचित हुनेछ। आज हामी तपाईंहरुलाई घाँटीमा हुने खस–खसलाई कसरी हटाउने भन्ने बारेमा जानकारी दिँदैछौ।
घाँटीलाई तातो बनाउनेः
औषधी पसलहरुमा उपलब्ध हुने हिट प्याडमार्फत अथवा तातो पानीमा टाबेल भिजाएर आफ्नो घाँटीमा राख्नु पर्छ। यसले तपाईंको घाँटीले तातो पाउँछ र घाँटीमा जम्मा भएको कफ बाहिर आउँछ। यसले तपाईंलाई केही समयमै आराम दिनेछ।
काँडाको प्रयोगः
एक कप पानीमा ४–५ मरिच तथा तुलसीका केही पत्ताहरुलाई उमाल्ने र काँडा बनाउने। उक्त काँडालाई दिनमा दुई पटक सेवन गर्ने। यसले पनि घाँटीको समस्या समाधानमा सहयोग र्पुयाउँछ।
मरिच र महको मिश्रणः
मरिचको धुलोमा मह मिसाएर खानु पर्छ। यसले घाँटीको खस(खस मात्र होइन खोकी लागेको बेलासमेत राहत मिल्छ र तपाईंको घाँटीले आराम पाउँछ।
अदुवा अचूक औषधीः
अदुवाले चिसोसँग सम्बन्धित धेरै प्रकारका समस्याबाट छुटकारा दिलाउँछ। अदुवालाई कुटेर मुखमा राखेर चुसिरहनु पर्छ। अदुवाको रसले पनि घाँटी खस–खस गर्ने समस्याबाट मुक्ति मिल्छ।
बोझोको छैन विकल्पः
घाँटीसँग सम्बन्धित प्रायः सबै समस्याका लागि बोझो रामवाण नै मानिन्छ । यसको प्रयोग गायक–गायिकाहरुले आफ्नो आवाजलाई सुमधुर बनाउनका लागि गरिरहेका हुन्छन्। बोझो मुखमा राखेर चुसिरहनु पर्छ। यसको रसले तपाईंको घाँटीलाई आराम दिन्छ।
घाँटीलाई आराम दिने ट्याब्लेटः
केहीँ राम्रा ब्राण्डका घरेलु ट्याब्लेटहरु बजारमा पाइन्छन्, जुन अदुवा, बोझो, मरिचको मिश्रणबाट बनाइन्छ। उक्त ट्याब्लेट चुसिरहनाले पनि तपाईंलाई फाइदा हुन सक्छ। तर, यस्ता औषधीहरु केवल राम्रो आयुर्वे्दिक ब्राण्डको मात्र किन्नु पर्छ।
मुख बार्नु पनि अनिवार्यः
घाँटी खस–खस गरेको बेला अमिलो र फ्रिजमा राखेको चिसो खानेकुरा खानै हुँदैन। तेल–मसला भएका खानेकुरा खानु हुँदैन। खानेकुरामा ध्यान नदिँदा तपाईंको घाँटीको समस्या झन–झन् बढ्न सक्छ।
कुल्ला गर्न नबिर्सौंः
मनतातो पानीमा थोरै नुन मिसाएर त्यसले कुल्ला गर्नु पर्छ। त्यसले तपाईंको घाँटीमा रहेका किटाणुहरुलाई भगाउँछ । कुल्ला गरेपछि तपाईंले निकै राहत महसुस गर्नु हुनेछ।
यति गर्दा पनि तपाईंको घाँटीको खस–खस तथा अन्य समस्याहरु समाधान भएन भने तपाईंले नाक, कान, घाँटी विशेषज्ञ चिकित्सकलाई भेट्नु पर्छ। किनभने यसको सही तरिकाले उपचार गरिएन भने झन् ठूलो समस्या निम्तिन सक्छ।