दाङ – दाङमा डेंगुले एक जनाको ज्यान गएको छ । दंगीशरण गाउँपालिका–१ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको मुत्यु भएको हो। उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा उनको मृत्यु भएको बुढाका मामा अमर बुढाले जानकारी दिए।
प्रादेशीक अस्पताल, राप्ती लाइफ केयर अस्पतालमा जाँच गराउँदासमेत रोग पत्ता नलागेपछि बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। स्वास्थ्य कार्यालय दाङले डेंगुको उच्च जोखिममा रहेको दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेकोे जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग दाङका फोकल पर्सन कमल चन्दले बिरामीको संख्या बढदो क्रममा रहेको बताए। हालसम्म १८ महिला र २४ पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए।
घोराही र तुलसीपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा डेंगुका बिरामीहरूको उपचार भइरहेको छ। पर्सन फोकल चन्दले ‘डेंगु रोगको लक्षण देखिएका केहि बिरामी उपचारपछि घर फर्किएको र तीनको नियमित सम्पर्कमा रहेको बताए। जिल्लामा डेंगुको त्रास बढ्दा स्थानीय सरकार र सरोकारवालाले रोग नियन्त्रण र व्यवस्थापनमा चासो देखाएको छैन।
५ वर्ष देखि जोखिममा
५ वर्षदेखि नै दाङ डेंगुको उच्च जोखिममा रहेको जिल्ला हो। विगतका वर्षमा पनि जिल्ला जनस्वास्थ्यमार्फत सचेतनामूलक कार्यक्रम हुँदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगुका कारण २०७२ सालमा दाङको गढवा गाउँपालिका गोबरडिहामा एक महिलाको मुत्यु भएको जनाएको छ। स्वास्थ्य कार्यालयकाअनुसार २०७३ सालमा ९ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए ।
कार्यालयले डेंगु रोग नियन्त्रण र सचेतनाका लागि जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक बजेट नभएको बताएको छ। डेंगु रोग फोकल पर्सन कमल चन्दल बजेट नहुँदा नियन्त्रणजन्य गतिविधि अगाडि बढाउन नसकेको बताए।