काठमाडौँ, ६ माघ – १६औँ सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसी पक्षका अभियन्ताहरुले संसदमा प्रधानमन्त्री केपी ओलीले राखेको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँ आइतबार आयोजित साक्षात्कार कार्यक्रममा केसीका सहयोगी डा. अभिषेकराज सिंहले प्रधानमन्त्री ओलीले संसदमा दिएको अभिव्यक्तिले चिकित्सा शिक्षाको सुधारका लागि लडिरहेका अभियन्ताहरुलाई दुखित बनाएको बताएका हुन्।
उनले ओलीको अभिव्यक्तिपछि राज्यमाथि शंका उब्जिएको टिप्पणी गर्दै सरकारले अहिले ईगो देखाइरहेको बताए।
सिंहले भने, ‘डाक्टर केसी तीन करोड नेपालीलाई सुलभ रुपमा स्वास्थ्य र शिक्षामा पहुँच हुनुपर्छ भनेर सत्याग्रहमा हुनुहुन्छ, तर सरकारले आँफै गरेको सम्झौता पालना गरेन। समस्या राज्यबाट नै सिर्जना भएको छ। अब समाधान पनि राज्यबाटै हुनुपर्छ।’
त्यसैगरी, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पनि ओली सरकारले केसीका माग पूरा गर्न गरिरहेको ढिलाईप्रति खेद व्यक्त गरे।
भण्डारीले डा. केसी सिंगो राष्ट्रका लागि लडिरहेको बताउँदै तत्काल उनले उठाएका माग पूरा गर्न सरकारलाई सुझाए।