काठमाडौँ – संखुवासभा सम्पर्क परिवार, दक्षिण कोरियाले संखुवासभा भोटखोलाकी ९ महिनाकी एक बालिकाको कलेजो प्रत्यारोपण गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ। सहयाेग रकम संकलन गर्न कोरियामा कार्यरत मिक्मा चिप्पा भोटेको अगुवाइमा अभियान चलाइएको थियाे।
संकलित रकम एक लाख ३३ हजार ३ सय रुपैयाँ संखुवासभा-काठमाडौँ जर्नालिष्ट एशोसिएशन (एसकाज)का अध्यक्ष हेमन्त गौतम र सम्पर्क परिवारका उपाध्यक्ष गिन्दिन लामाले बिरामी बालिकाकाे बुवा पेम्बा नुर्बु भोटेलाई हस्तान्तरण गरेका छन्। आफ्नी छोरीका लागि दक्षिण कोरियामा रहेका संखुवासभाली तथा अरु नेपालीहरूले आफ्नै छोरी सम्झेर गरेको सहयोगप्रति पेम्बा नुर्बुले आभार व्यक्त गरे।
डाक्टरहरूले उमेर सानै भएकाले छोरीको कलेजो प्रत्यारोपण गर्न नसकिने बताएकाे बुवा पेम्बा नुर्बुले जानकारी दिएका छन्। उनका अनुसार बालिकाको उपचार अहिले दिल्ली र बालमैत्री अस्पताल, महाराजगञ्जमा भइरहेको छ।