चितवन – चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन्। अहिलेसम्म जिल्लामा रहेका १ सय १० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ।
स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन्। भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ/आठ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बीमा गरिएको हो। सङ्क्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बीमा गरिएको उनले बताए। अहिले जिल्लामा एक हजार ७ सय २९ जना सङ्क्रमित छन्। उनीहरुमध्ये ८ सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन्।
जिल्लामा रहेका सबै सङ्क्रमित खुलेर बाहिर आउन सकुन् भन्ने उद्देश्यका साथ स्थानीय तहहरुसँगको समन्वय गरी बीमा कार्यक्रम शुरु गरिएको सापकोटाले जानकारी दिएका छन्। अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि सङ्क्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ। सन् २०१९ को जनवरीदेखि जुनसम्म सात हजार ८ सय १ जनाको नमूना परीक्षण गर्दा ५४ जना सङ्क्रमित भेटिएका छन्। (रासस)