वीरगंज – वीरगंजमा अर्को एक अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वीरगंज– ८, पानीट्याङ्कीमा निर्माण भइरहेको प्रभु हस्पिटलको काम अन्तिम चरणमा पुगेको व्यवस्थापनले जानकारी दिएको छ।
अस्पताल सञ्चालक समितिका सदस्य डा. मनोज गुप्ताका अनुसार दशैँअगाडि नै अस्पतालको उद्घाटन गर्ने लक्ष्य रहेको छ। ३ कठ्ठा जग्गा र अन्य खर्च गरी करिब ४० करोड रूपैयाँ अस्पतालमा लगानी रहेको छ। मुख्य लगानीकर्ता प्रभु बैंक रहेकाले अस्पतालका नाम ‘प्रभु हस्पिटल’ राखिएको व्यवस्थापन पक्षले बताएको छ।
स्वास्थ्य विभागको मापदण्डअनुसार कुल जग्गाको करिब डेढ कठ्ठामा ५ तले भवन निर्माण गरिएको छ। बाँकी जग्गा खाली राखिएको छ। अस्पतालमा ओपीडी, इमेरजेन्सी, अर्थो, गाइनो, प्याडयाट्रिक, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, सीटीस्क्यान, आईसीयू, एनआइसीयूलगायत सबै प्रकारको विशेषज्ञ सेवा उपलब्ध हुने व्यवस्थापनले जानकारी दिएको छ।