विराटनगर – मोरङको कटहरी गाउँपालिकाका दुईवटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको वडा नम्बर २ र ४ मा मंगलबारदेखि सञ्चालनमा ल्याइएको केन्द्रको गाउँपालिकाका प्रमुख रामकुमार कामतले उद्घाटन गरे।
वडा नम्बर २ मा मुख्य चोकको दक्षिण र वडानम्बर ४ को नयाँ बजारमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्रमा एक हेल्थ असिस्टेन्टको नेतृत्वमा रहने ३ जनाको टोलीले विरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ। केन्द्रबाट खोप, परिवार नियोजन, गर्भवती एवम् शिशु जाँच, साधारण प्रसुती, नवजात शिशु सेवालगायतका १२ प्रकारका सेवा उपलब्ध गराइने कटहरी गांउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले जानकारी दिए।
स्वास्थ्य सेवा केन्द्रको उद्द्दाटन गर्दै गाउँपालिका प्रमुख कामतले आफ्नैै घरदैलोमा सञ्चालन गरिएको केन्द्रबाट अधिकतम लाभ लिन स्थानीयलाई आग्रह गरे। उनले हालका लागि घर भाडामा लिएर स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको भएता पनि छिट्टै आधुनिक भवन निर्माण गरेर सबै वडामा स्वास्थ्य सेवा सञ्चालन गरिने प्रतिवद्धता जनाए। ७ वडा रहेको सो गाउँपालिकाको वडा नम्बर १ र ५ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुन बाँकी रहेको छ।