काठमाडौँ, ३ माघ – रोगको उपचार गरेर निको गराउनुभन्दा रोग लाग्न नै नदिनु सबैभन्दा ठूलो बुद्धिमत्ता हो। यदि रोग लागिहाल्यो भने समयमै परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।
५ वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भए पनि जनचेतनाको अभावमा वर्षेनि धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा ५ लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ। अस्पतालले स्वास्थ्यकर्मीलाई परीक्षणसम्बन्धी तालिमसमेत दिँदै आएको छ।
अस्पतालका क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला शिवाकोटी अस्पतालमा सन् २०१७ मा ४ हजार ९ सय ७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५ सय ४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउँछन्।
उनका अनुसार सन् २०१६ मा ४ हजार ७ सय ७५ मध्ये ६ सय ५ जनामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो भने सन् २०१५ मा ४ हजार ५ सय ८१ बिरामीमध्ये ५ सय ४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो।
शिवाकोटीका अनुसार महिलामा देखिएका क्यान्सरमध्ये २० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर रहेको छ। प्रविधि र खर्चको हिसाबले रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको उनी बताउँछन्।
अस्पतालले चालू आर्थिक वर्षमा विभिन्न ठाउँमा पुगेर ५ हजार महिलाको पाठेघरको मुखको श्रव परीक्षण गरेको छ। यस वर्ष १० हजार महिलाको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको छ। यससँगै ४० स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको शिवाकोटीले बताए।
सामान्य अवस्थामा पाठेघरको क्यान्सरमा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ। कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ। ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अङ्गविशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन्। विवाहित यौनजीवनसँग आबद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ।
महिला क्यान्सर रोगविशेषज्ञसमेत रहेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य समयमा परीक्षण गर्नसके यो रोगबाट बचाउन सकिने बताउँछन्। महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखको क्यान्सर हुने आचार्यले बताए।
नेपालमा वर्षेनि कति महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। साधारणतया यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपाल लगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ। पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो– ह्युमेन पापिलोमा भाइरस। साधारण किसिमको मानिने यो भाइरस यौन कार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलाको जीवनमा कम्तीमा एक पटक सङ्क्रमित हुने मानिन्छ।
आचार्यका अनुसार पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थको सेवन र गुप्ताङ्गसम्बन्धी अन्य खाले दीर्घरोगी महिलालाई हुने जोखिम बढी हुन्छ।
महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन्।
यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ। यो रोग निकै फैलिइसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ।
पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ। पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ/छैन थाहा पाउन अल्ट्रासाउन्ड, सिटीस्क्यान, आईभीयू वा एक्स–रे गराउनुपर्छ।
पाठेघरको मुखको क्यान्सर शुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने हुन्छ। रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) प्रयोग गरिन्छ।
सरकारी तवरबाट देशैभरका महिलालाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ। शहरी क्षेत्रमा जनचेतनाका कारण केही महिलाले परीक्षण गर्ने गरेको भए पनि अधिकांश महिलाले परीक्षण गरेको पाइँदैन। हल्का रूपमा यसलाई नलिई समय–समयमा परीक्षण गर्नुपर्छ। जनवरीलाई विश्वमा पाठेघरको मुखको क्यान्सर सचेतना महिनाका रूपमा लिने गरिन्छ।