काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताएका छन्।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्धारा आयोजित योग शिविरको उद्घाटन गर्दै उनले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइ राख्ने बताए।
योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको भन्दै उनले आज विश्वभरका मानिसहरु कुनै न कुनै रोगसँग जुधिरहेका छन्। हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पको खोजीमा रहेको उनको भनाइ थियो। आजको विश्वमा मानिसले ठूला–ठूला भौतिक सुखसयल प्राप्त गरेका भए पनि ती मानिसहरु आत्मिक शान्ति, मानसिक सुखको खोजीमा रहेको उनले बताए।
योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरुले भिन्नभिन्न कोणबाट तर्क गरेको भन्दैे, ‘विद्वानहरुले योगको शुरुवात शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको बास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गरेका छन्।’ साथै,‘वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति गर्ने गरेको मानिन्छ।’
योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानको रुपमा स्थापित भएको भन्दै उनले केही दिनअघिमात्रै एकविज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद पतञ्जलीको जन्म नेपालको अर्घाखाँची जिल्लामा भएको प्रमाणसहित दावी गरेको जानकारी दिएका छन्।
उपर्राष्ट्रपति पुनले आज संसारका १ सय ७५ राष्ट्रले स्वीकार गरेको योग नेपालबाटै फैलिएको बताएका छन्। आज योग कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दू, बौद्ध र जैन संस्कृतिमा व्यवहारिक प्रयोग भइरहेको उनको भनाई छ। त्यसकारण योग नेपाली भूमिबाट विश्वभरका मानिसमा फैलिएको सन्देश भएको भन्दै उनले विश्वभरका मानिसलाई एकताको सूत्रमा बाँध्ने माध्यम पनि योग हो।
नेपालबाट फैलिएर अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको र संयुक्त राष्ट्रसघंको ६९औँ महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरुमा उनले शुभकामना पनि व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय योग दिवस समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्रविक्रम महतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, टंकनाथ पौडेल, रामप्रसाद वस्तीलगायतले बोलेका थिए।
सो अवसरमा उपराष्ट्रपति पुन, उहाँकी धर्मपत्नी हस्तमालिनी पुनलगायत उपस्थित भएकाहरुले योग गरेका थिए। (रासस)