काठमाडाैँ – सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ।
सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो। तर, महिनौँदेखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन्। मुडभरीका अनुसार अहिले सिंहदरबारमा सिटामोल, एन्टिबायोटिक्स, बान्ता रोक्ने ओन्डेम, डायबिटिजका बिरामीलाई दिइने मेटफर्मिन, ग्यास्ट्रिक, प्रेसर, कोलेस्ट्रोल, एलर्जीका औषधि तथा कान र आँखामा हालिने ड्रप पनि अभाव छ। याे समाचार नयाँ पत्रिका दैनिकले छापेकाे छ।