काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीको काठमाडौँको ग्रिन सिटी हस्पिटलले निःशुल्क मलद्वारको शल्यक्रिया गरेको छ। अस्पतालले निःशुल्क मलद्वारको शल्यक्रिया गरिदिएपछि रविनाले नयाँ जीवन पाएको बताएकी छन् भने उनको परिवारमा खुसीयाली छाएको छ।
८ वर्षअघि मलद्वार विहिन छोरी रविना जन्मिएपछि बुबा शिवहरी योगी र आमा लक्ष्मी योगीले बुटवल, पाल्पा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार र शल्यक्रिया प्रयास गरेपनि सफल हुन सकेको थिएन। ८ वर्षसम्म पेटमा प्वाल बनाएर दिशा निकाल्ने व्यवस्था गरिएको थियो।
ग्रिन सिटी हस्पिटलका वरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर रविनाको मलद्धारको अप्रेशन गरेको थियो।
रविनाको पारिवारिक आर्थिक अवस्था कमजोर भएको जानकारी पाएपछि ग्रिन सिटी हस्पिटलले निःशुल्क मलद्वारको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताए। उनले एक महिनामा दुई जनासम्म विपन्न्न परिवारका विरामीको निःशुल्क अप्रेशन गर्ने गरेको जानकारी दिए।