इलाम, ३० पुस – डा. केसीको १६औं सत्याग्रहको छैटाैं दिन स्वास्थ्यमा आएको खराबीका कारण उपचारार्थ अस्पतालमा भर्ना गरिए पनि समर्थकहरू निरन्तर ऐक्यबद्धता र्याली गरिरहेका छन्। सोमबार पनि बिहानैदेखि इलामलगायत देशका अन्य स्थानहरूमा ऐक्यबद्धता र्याली भइरहेका छन्। इलामस्थित रत्न चोकमा नागरिक समाजको आयोजनामा निरन्तर र्याली भइरहेको छ।
त्यस्तै, सोमबार साँझ ५ बजेका लागि चितवनमा पनि र्यालीको आयोजना गरिँदै छ। लुटतन्त्रविरुद्ध लड्न र डा. गोविन्द केसीलाइ साथ दिन आउनुहोस् भन्ने मुलनाराका साथ चाैविस कोठी चितवनबाट र्याली आयोजना गर्न लागिएको बताइएको छ।
जुम्लामा २७ दिनसम्म १५औँ सत्याग्रहमा बसेका डा. केसीलाई काठमाडौँ ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएको थियो।
तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग अक्षरशः पालना नभएपछि डा. केसीले २५ गते साँझ नै १६औं सत्याग्रह थालेका हुन्।