इलाम, ३० पुस – १५औँ सत्याग्रहमा भएको सहमति विपरीत चिकित्सा विधेयक संसदबाट पारित भएपछि इलाममा अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा इलाम सदरमुदाम इलाम बजारमा प्रदर्शन भइरहेको छ।
स्वतःस्फुर्त प्रदर्शनमा उत्रिएका सर्वसाधारणले डा. केसीका माग तत्काल पूरा गर्न सरकारलाई चेतावनी दिएका छन्।
डा. केसीको सत्याग्रहको समर्थनमा आयोजित ऐक्यवद्धता र्यालीमा नागरिक समाज, बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिनिधि लगायत सर्वसाधारणको सहभागिता रहेको छ।
रत्न चोकमा नागरिक समाज इलामले गरेको प्रदर्शनका सहभागीले केपी ओली नेतृत्वको सरकारले केसीसँगै जनतालाई धोका दिन खोजेका बताएका छन्।
डा. केसी एक्ला छैनन्, हामी जनता साथमा छौँ, डा. केसीसँगको साउन १० को सम्झौता लागू गर, लगायतका नारासहित केसीको समर्थनमा स्थानीय सडकमा उत्रिएका हुन्।