इलाम, ३० पुस – स्वास्थ्यमा आएको खराबीका कारण वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीलाई सत्याग्रहको छैटौँ दिन अस्पताल सारिएको छ। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि केसीलाई अस्पतालमा सारिएको हो।
डा. केसीलाई सोमबार बिहान ९ बजे सत्याग्रहस्थल फूलगाछीबाट करिब १ किलोमिटरमा रहेको इलाम अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
डा. केसीलाई अहिले नर्मल स्लाइन र अक्सिजन लगाएर राखिएको छ। चिकित्सकका अनुसार अस्पतालमा गरिएको जाँचमा डा. केसीको रक्तचाप ९०–६० मिलिमिटर मर्करी, मुटुको गति १ सय र शरीरमा अक्सिजनको मात्रा ८९ प्रतिशत छ।
सामान्य अवस्थामा शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुन्छ। डा. केसीको स्वास्थ्य जाँच गरेका इलाम अस्पतालका चिकित्सक डा. विजेन्द्रकुमार साहले डा. केसीको शरीरको तापक्रम चाहिँ सामान्य रहेको बताएका छन्।
डा. केसीमा देखिएको समस्यालाई मेडिकलको भाषामा टन्सिलर फेनेञ्जाइटिस विथ राइट बेजल निमोनिया इन सेप्सिस विथ डिहाइड्रेसन विथ डिसइलेक्ट्रोलाइटिमिया विथ इक्टोपिक्ट बिट्स भनिने उपचारमा संलग्न चिकित्सक डा. साहले बताएका छन्।
केसीमा निमोनिया भइसकेको, पानीको मात्रा कम भएकोलगायत धेरै समस्या एकैपटक देखिएको अस्पतालले जानकारी दिएको छ।
चिकित्सकका अनुसार डा. केसी छोटो अवधिमै निकै शिथिल भइसकेकाले भोलि–पर्सिसम्ममा उनलाई अझ समस्या निम्तिनसक्ने देखिएको छ।
जुम्लामा २७ दिनसम्म १५औँ सत्याग्रहमा बसेका डा. केसीलाई काठमाडौँ ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएको थियो।
तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग अक्षरशः पालना नभएपछि डा. केसीले २५ गते साँझ नै १६औं सत्याग्रह थालेका हुन्।