मोरङ– अस्पतालको लापारबाहीले पूर्व क्षेत्रका चर्चित बरिष्ठ बालरोग विशेषज्ञ डाक्टरको ज्यान गएको छ । अस्पतालको लापारबाहीका कारण आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन नसकेको हो । वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘अस्पतालको चरम लापरबाही’ का कारण मंगलबार निधन भएको हो।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ अग्रवाल ४२ वर्षका हुनुहुन्थ्यो ।
अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् । वैशाख २३ गते सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल पुगेका थिए। चिकित्सकको सल्लाह बमोजिम सामान्य उपचार गराएर फर्किनुभएका उनी पुनः भोलिपल्ट श्रीमतीका साथ अस्पताल गएका थिए।
उनको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिँदा उनको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बनेका छन् । उपचारकै क्रममा ‘ब्रेनडेथ’ भएपछि कोमामा पुग्नुभएका डा. विमलको मंगलबार राति साढे १० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा निधन भएको थियो।
आफन्तको असन्तुष्टि
विमलका बाबु श्रावरमल अग्रवालका अनुसार एन्जियोग्राफी गरेपश्चात् ज्वरो आउन शुरु भएपछि उनलाई दुुखाइ कम गर्ने र निद्राको औषधी दिइएको थियो । औषधीको मात्राले पूर्ण बेहोस भए पनि एन्जियोग्राफी गर्दा दिइएको औषधीले दिमागमा असर गरेको उनको ठहर छ ।
बिरामी लामो समयसम्म होसमा नआएपछि आफन्तलाई ‘यस्तो अवस्थामा होसमा आउन तीन–चार घण्टा पनि लाग्छ’ भनेर डाक्टरले सम्झाएका थिए । तर, विमल कहिल्यै होसमा आएनन्।
त्यस दिन विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकको टोलीसमेत पुगेर उनको अवस्था हेरेको थियो । तर, त्यति बेला निकै ढिला भइसकेको थियो । उनको अवस्थाको साक्षी रहेका उनका सहकर्मी एवम् विराटनगर राउन्ड टेबल–११ का संस्थापक अध्यक्ष विकास बेगवानीले चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाए।
‘सामान्य स्वास्थ्य अवस्था भनेर हेलचेक्र्याइँ गर्दा आज होनहार बालरोग विशेषज्ञले जीवन गुमाउनुपरेको छ’ –बेगनीले भने।
२४ गते मंगलबार राति विराटनगरस्थित न्युरो अस्पतालका विशेषज्ञसहित भारतको मेदान्त अस्पतालका विशेषज्ञको टोलीले समेत उनको अवस्था हेरेको थियो । समयमै उनको अप्रेसन भएको भए जीवन जोखिममा नपर्ने चिकित्सकले बताएका छन् ।
यो समाचार नेपाल समाचारपत्रले छापेको छ।