दमौली - गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ।
तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो। उक्त प्रयोगशालाको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे। मन्त्री गुरुङले खाद्यान्न जीवन र स्वास्थ्यसँग जोडिएकाले सबैले स्वच्छ खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताए।
उत्पादनको लाभ लिन बढी विषादी प्रयोग हुने गरेको भन्दै मन्त्री गुरुङले प्रदेशभित्र भित्रिने तरकारीलगायत खाद्यान्न स्वच्छ र स्वस्थ बनाउन प्रयोगशाला स्थापना गरिएको बताए। शुरुआती चरणमा बाहिरबाट प्रदेश भित्रिने तरकारी मात्रै परीक्षण हुने र निकट भविष्यमा प्रदेशभित्रकै तरकारी लगायतका खाद्यान्नसमेत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकार लागिपरेको उनले जानकारी दिए।
भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वच्छ र स्वस्थ खाद्यान्न सर्वसाधारणलाई उपभोग गराउने उद्देश्यबमोजिम प्रदेशको दुईवटा नाकामा प्रयोगशाला स्थापना गरिएको बताए। आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु, तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गरिनेछ।
परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताए। प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिने छ। उनका अनुसार प्रयोगशालालाई आन्तरिक क्वारेन्टाइनका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। (रासस)