वीरगञ्ज, पुस १९। संघीय सरकारले नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा स्तरोन्नति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा स्तरोन्नतिकाे निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै नारायणी उपक्षेत्रीय अस्पताल विशेषज्ञ सेवासहित ५ सय शय्याको केन्द्रीय अस्पताल हुने भएको छ। काठमाडाैँको वीर अस्पतालसँगै स्थापना भएको यो अस्पताल सरकारी उपेक्षाका कारणा ओझेलमा पर्दै आएको थियो।
भदौ ४ गते पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको नेतृत्वमा काठमाडाैँ गएको टोलीले अस्पतालकाे स्तराेन्नतिकाे माग राख्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाइ ज्ञापनपत्र बुझाएको थियो।
सांसद यादवले अस्पतालको भौतिक पूर्वाधारहरूकाे सुधार गर्दै विशिष्ट श्रेणीका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यसम्बन्धी अत्याधुनिक उपकरणहरूकाे व्यवस्था गरिनुपर्ने आवश्कता औँल्याए। केन्द्रीय अस्पतालका रुपमा स्ताराेन्नति भएपछि प्रशिक्षण अस्पताल बनाउनतर्फ पनि आफूले पहल गरिरहेकाे उनले बताए।
सरकारको पछिल्लाे निर्णयसँगै १०८ वर्षको इतिहास बोकेको यस अस्पतालबाट स्वास्थ्य सेवाका लागि काठमाडाैँ र भारतसम्म धाउन बाध्य मध्यतराईका जनता लाभान्वित हुने भएका छन्।