प्रेम रौले, मार्तडी - बैतडी जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएकाले उनीहरु नै २० वर्ष कम उमेरका महिलाले गर्भपतन गर्ने गरेको स्थानीय तहका स्वास्थ्य संस्थामा तथ्याङ्क रहेको पाइन्छ।
खप्तड छेडेदह गाउँपालिका साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
खप्तड छेडेदह गाउँपालिकामा पर्ने आटीचौर स्वास्थ्य चौकीबाट एक वर्षभित्रमा सुुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्यामा उल्लेख वृद्धि भएको छ। सेवा शुरु हुनुअगावै सेवा लिनेको सङ्ख्या कम देखिए पनि विस्तारै महिलाले सेवा लिने क्रममा वृद्धि भएको छ।
तथ्याङ्कअनुसार हालसम्म ४१ महिला एवं किशोरीको ज्यान जोखिमबाट बचेको पाइएको छ। स्वास्थ्य संस्थाबाट सेवा नपाएको भए धेरै महिलाले असुरक्षित गर्भपतन गराउने गरेको थियौँ सेवा सञ्चालन भएपछि धेरै सजिलो भएको स्थानीय कुशम ओलीले बताएका छन्।
यसैगरी बूढीगङ्गा नगरपालिकाको देवलसैन र टाँटे स्वास्थ्य चौकीबाट साउनदेखि माघ महीनासम्म जम्मा १०१ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको सोही स्वास्थ्यचौकीका अनमी ताराकुमारी शाहीले बताए। त्रिवेणी नगरपालिका साविकको कैलाशमाडौँ स्वास्थ्य चौकीमा पनि साउनदेखि माघसम्ममा ५४ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको अनमी सावित्री रोकायाले जानकारी दिएका छन्।
गत वैशाखबाट सेवा शुरु भएको कार्यक्रमले स्थानीय महिलालाई निकै सहज भएको स्थानीय महिलाको भनाइ रहेको छ। जिल्लामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा सरकारले लागू गरेको एक वर्ष पुगेको छ।
इच्छा नभएका गर्भ गर्भपतन गराउन आवश्यक महिला तथा किशोरीलाई सुरक्षितरुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आइपास बाजुरामा जिल्ला संयोजक महेशराज जोशीले बताएका छन्।
उनले गर्भपतन गर्नुपर्छ भन्ने कार्यक्रमको उद्देश्य नभएको तर असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पुर्याउन जिल्ला संयोजक जोशीले बताए।
उक्त कार्यक्रम जिल्लाका साविकका छ गाविसमा लागू भएको छ। सुरक्षित गर्भपतन गर्दा हुने महिलालाई सहज र सेवाका बारेमा स्थानीयस्तरका महिलामा परामर्शका कारण एक वर्षयता स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको कैलाशमाडौँ स्वास्थ्य चौकीका प्रमुख प्रकाशविक्रम शाहीले बताएको छ। (रासस)