पुस ६, राँझा । बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकीमा कुनै पनि व्यवस्था देिखदैन ।
स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ ।
स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले बताउनुभयो । “स्रोतसाधन छैन, छ महीना भयो विद्युत्को बिल तिर्न नसकेको”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा यस विषयमा पटक–पटक जानकारी गराइएपनि सुनुवाइ भएन, अब कहाँ भन्न जाने ? ”
विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विगतमा बाहिरङ्ग सेवा सञ्चालनका लागि रकम आउने भए पनि स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरणपछि आयस्रोत पनि ठप्प भएको छ ।गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गीरबहादुर गुरुङले मसलन्द खर्चका लागि गाउँपालिकामा रकम माग गरिएको र उपलब्ध भए स्वास्थ्यचौकी सञ्चालनमा सहजता आउने बताउनुभयो ।