मार्तडी - बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएकाे छ। आज (बुधबार) बिहान स्वास्थ्यकर्मीको टोली औषधिसहित उक्त क्षेत्रमा पुगेकाे छ।
गाउँका सबै बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। स्वाथ्यकर्मीको टोलीले १ सय ८ जनाको उपचार गरेको बताएको छ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरीले ४८ पुरुष र ६० महिलालाई घर–घरमा पुगेर चेक जाँचसहित उपचार गरेको जानकारी दिए।
उपचारका लागि गाउँमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट २ र फेज नेपालबाट ३ गरी ५ जना स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको ३ नं.का वडाध्यक्ष रामबहादुर बोहराले बताए। सिङ्गो गाउँलाई नै उपचार गरिएको अध्यक्ष बोहराले जानकारी दिए।
फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले उक्त क्षेत्रका अधिकांश बिरामी भाइरल ज्वरोको सङ्क्रमणमा परेकाे बताए। (रासस)