काठमाडौँ । स्पेनमा आकस्मिक आम निर्वाचनका लागि मतदान सुरु भएको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले निर्धारित समयभन्दा आठ महिनाअघि नै निर्वाचन घोषणा गरेपछि आइतबार देशभर मतदान भइरहेको हो।
प्रधानमन्त्री सान्चेज नेतृत्वको समाजवादी पार्टीले यस निर्वाचनमा प्रमुख प्रतिपक्षी रूढिवादी जनपार्टीसँग प्रतिस्पर्धा गर्दैछ। बहुमत हासिल गर्न जनपार्टीले दक्षिणपन्थी दल भोक्सको समर्थन लिनुपर्ने अवस्था आउन सक्ने देखिएको छ। निर्वाचनअघि सार्वजनिक मत सर्वेक्षणहरूले सान्चेजको पार्टी प्रतिद्वन्द्वी अल्बर्टो नुनेज फेइजोआ नेतृत्वको जनपार्टीभन्दा केही पछाडि रहेको देखाएका थिए। यद्यपि शुक्रबार समर्थकहरूलाई सम्बोधन गर्दै सान्चेजले आफ्नो पार्टीले जित हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।
आइतबार राति ८ बजे मतदान सम्पन्न हुनेछ। त्यसको करिब एक घण्टापछि प्रारम्भिक नतिजा सार्वजनिक हुन थाल्ने र सोमबारसम्म आधिकारिक परिणाम आउने अपेक्षा गरिएको छ। यसपटकको निर्वाचनमा सस्तो तथा सहज आवासको अभाव प्रमुख चुनावी मुद्दा बनेको छ। यससँगै बढ्दो महँगी र आप्रवासनको विषयले पनि चुनावी बहसमा स्थान पाएको छ।
सन् २०१८ देखि सत्तामा रहेका सान्चेज अन्तर्राष्ट्रिय राजनीतिमा पनि चर्चित छन्। गाजामा इजरायलको सैन्य कारबाहीको विरोध तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचनाका कारण उनी अन्तर्राष्ट्रिय चर्चामा रहँदै आएका छन्। तर, देशभित्र भने आवास संकट, भ्रष्टाचारसम्बन्धी विवाद र दुईवटा घातक रेल दुर्घटनाले उनको सरकारमाथि दबाब बढाएको छ। सान्चेजको पार्टी संसद्मा सबैभन्दा धेरै सिट जित्न सफल भए पनि वामपन्थी दलहरूबीच गठबन्धन बनाएर सरकार गठन गर्न उनलाई कठिनाइ हुन सक्ने आकलन गरिएको छ।