काठमाडौं ।चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई बेइजिङ भ्रमणका लागि निमन्त्रणा दिए पनि निकट भविष्यमा भ्रमण हुने सम्भावना न्यून देखिएको छ।
दुवै देशका पक्षबाट प्राप्त संकेतअनुसार तत्काल भ्रमणको तयारी अघि बढ्न सकेको छैन।चीन भ्रमण तत्काल सम्भव नदेखिनुका मुख्य दुई कारण रहेको बताइएको छ। पहिलो, आगामी एक महिनाभित्र भ्रमणका लागि आवश्यक तयारी पूरा गर्न कठिन छ। दोस्रो, नेपालमा स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु हुन लागेकाले चुनावी कार्यतालिका सक्रिय भएपछि उच्चस्तरीय विदेश भ्रमण गर्न कठिन हुने देखिन्छ।
बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरू पनि तत्काल प्रधानमन्त्रीको चीन भ्रमण हुनेमा विश्वस्त देखिएका छैनन्। भ्रमणको तयारीसम्बन्धी कुनै औपचारिक निर्देशन वा सूचना प्राप्त नभएको उनीहरूको भनाइ छ। यद्यपि, केही समयपछि भ्रमण हुन सक्ने सम्भावना भने खुला रहेको बताइएको छ।
यसबीच नेपाल र चीनबीचको सम्बन्ध तथा सहकार्यका विषयमा विभिन्न असमझदारी रहेको चर्चा हुँदै आएको छ। विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्क र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजनाका विषयमा नेपाली सरकारको प्राथमिकताप्रति चिनियाँ पक्षले चासो र असन्तुष्टि व्यक्त गरेको बताइएको छ।
चिनियाँ पक्षले बीआरआईअन्तर्गतका परियोजना अघि बढाउने विषयमा नेपालबाट अपेक्षित सक्रियता नदेखिएको बुझाइ राख्दै आएको छ। टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र पोखरा विमानस्थलको विषयमा पनि दुई पक्षबीच फरक धारणा रहेको समाचारमा उल्लेख छ।यद्यपि, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र शिक्षामन्त्री सस्मित पोखरेललगायतसँग चिनियाँ अधिकारीहरूको संवाद जारी रहेको बताइएको छ। नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउने विषयमा पनि चीनसँग पहल गरिरहेको छ।
चिनियाँ राजदूत झाङ माओमिङले नेपाली मन्त्रीहरूले उठाएका विषय बेइजिङसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले तत्काल उच्चस्तरीय भ्रमणको टुंगो नलागे पनि दुई देशबीच कूटनीतिक संवाद भने जारी रहेको देखाउँछ।