काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ हुलास नजिकै ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब ९ः४० बजे वीरगञ्जबाट काठमाडौंका लागि छुटेको माइक्रोबस मर्मतपछि ग्यारेजबाट निस्किएर जितपुरतर्फ जाँदै गरेको ट्रकसँग ठोक्किएको हो।दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १० जना सवार थिए। तीमध्ये चालकसहित चार जना घाइते भएको बारा प्रहरीले जनाएको छ।
घाइते हुनेमा बाराको परवानीपुर गाउँपालिका–२ का २८ वर्षीय माइक्रोबस चालक उत्तम साह, वीरगञ्ज–१० का ६७ वर्षीय राजेन्द्र महतो, दाङको तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज–१३ की ६९ वर्षीया सकुन्तला पौडेल रहेका छन्।