काठमाडौं ।इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुखाबरले इराकलाई अमेरिकाको प्रभावमा परेर इरानविरुद्धका गतिविधिमा सहभागी नहुन चेतावनी दिएका छन्।
उनले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इराकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वार्थअनुसार काम गर्न नहुने धारणा व्यक्त गरेका हुन्।अमेरिकी दबाबपछि इराकले इरानसँग जोडिएका अधिकांश सीमा नाका बन्द गरेको समाचार सार्वजनिक भएपछि मुखाबरको यस्तो प्रतिक्रिया आएको हो।यसअघि इराकका विदेशमन्त्री फुवाद हुसेनले अमेरिकी वित्त विभागले बगदादलाई इरानसँगका सबै सीमा नाका बन्द गर्न र दुईवटा मात्र सञ्चालनमा राख्न आग्रह गरेको खुलासा गरेका थिए।
इरान र इराकबीच वार्षिक १५ देखि १८ अर्ब अमेरिकी डलर बराबरको व्यापार हुने गरेको उनको भनाइ थियो। सीमा नाका बन्द भए इराकको अर्थतन्त्रमा समेत गम्भीर असर पर्न सक्ने उनले चेतावनी दिएका थिए।यसैबीच अमेरिकाले इरानी बन्दरगाहमाथिको समुद्री नाकाबन्दी पुनः सुरु गरेको छ। इरानको स्थलमार्ग र क्यास्पियन सागर हुँदै हुने हतियार तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले विशेष कार्यदल गठन गरिएको पनि बताइएको छ।
समुद्री मार्गमा प्रतिबन्ध कडा भएपछि छिमेकी मुलुकसँग जोडिएका स्थलमार्ग इरानका लागि व्यापार तथा आपूर्ति व्यवस्थापनको महत्त्वपूर्ण माध्यम बनेका छन्।