काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उद्योग, व्यवसाय र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारले कानुनी तथा नियामकीय सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
आइतबार काठमाडौं क्षेत्र नम्बर ६ का स्थानीय बासिन्दासँगको भेटघाटमा मन्त्री खनालले लगानी आकर्षित गर्न र व्यवसाय सञ्चालन सहज बनाउन आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। सरकारले आगामी केही हप्ताभित्र संशोधन गर्न लागिएका कानुन र त्यसबाट लगानी तथा व्यवसाय सञ्चालनमा हुने सहजताबारे विस्तृत जानकारी सार्वजनिक गर्ने उनको भनाइ छ। उद्योग व्यवसाय विस्तार भएपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनले बताए। खनालका अनुसार कानुनी जटिलता हटाएर लगानीको वातावरण सहज बनाउनु सरकारको प्राथमिकता हो। यसका लागि सरकार र संसद्बीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी संसद् अधिवेशनमा पनि कानुन संशोधनको विषयलाई अघि बढाइने बताए। केही कानुन संशोधनको प्रक्रिया परराष्ट्र मन्त्रालयबाटै सुरु भइसकेको उनले जानकारी दिए।
गैरआवासीय नेपालीका अधिकार कार्यान्वयनमा जोड
मन्त्री खनालले गैरआवासीय नेपालीले संविधान र कानुनले प्रदान गरेका अधिकार सहज रूपमा प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन पनि कानुनी सुधार भइरहेको बताए। विदेशको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता कायम गर्न चाहने व्यक्तिले आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने विद्यमान व्यवस्था रहेको उनले उल्लेख गरे। संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधनबाट सम्बोधन गर्नुपर्ने विषय र हालकै कानुनबाट समाधान गर्न सकिने विषय फरक रहेको स्पष्ट पारे।
टोखा–छहरे सुरुङमार्गको रेखांकन अझै टुंगिएको छैन
आफ्नो निर्वाचन क्षेत्रका स्थानीयसँगको छलफलमा मन्त्री खनालले टोखा–छहरे सडक तथा प्रस्तावित सुरुङमार्गको मापदण्डबारे पनि जानकारी गराए। उनका अनुसार टोखा–छहरे सडकको मापदण्ड अहिलेको सरकारले परिवर्तन गरेको छैन। २०७६ सालमा निर्धारण गरिएको मापदण्ड नै हाल कायम छ। उनले सामाखुसीसम्मको सडक दुई लेनको रहेको र सडकको राइट अफ वे १५–१५ मिटर कायम रहेको बताए। सडकलाई ठूलो अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने वा हालको मापदण्ड परिवर्तन गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको उनको भनाइ छ।
टोखा–छहरे सुरुङमार्गको प्रवेश र निकास बिन्दु तथा अन्तिम रेखांकनसमेत निश्चित नभइसकेको उनले स्पष्ट पारे। अहिले चर्चामा रहेको ८२ मिटर सडक मापदण्ड पनि निर्णय भइसकेको विषय नभएको उनले बताए।सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनसमेत प्राप्त भइनसकेको उल्लेख गर्दै खनालले अध्ययनका विभिन्न चरण पूरा भएपछि मात्रै आयोजनाको स्थान, सडकको स्तर र मापदण्डबारे निर्णय हुने जानकारी दिए। सडकको मापदण्ड र सुरुङमार्गको रेखांकन अन्योलमा रहँदा स्थानीयको जग्गा मूल्यांकन, बैंकिङ कारोबार तथा ऋण प्रक्रियामा समस्या देखिएको विषयमा उनले घोषित मापदण्डभन्दा बाहिर गएर स्थानीय सरकारले नक्सापास रोकिरहेको भए सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरे। त्यस्ता समस्या समाधानका लागि भौतिक पूर्वाधार मन्त्रालयमार्फत पहल गर्ने पनि उनले बताए। यसैगरी, काठमाडौं क्षेत्र नम्बर ६ मा आफ्नो प्राथमिकतामा साङ्ला खोला करिडोर रहेको उल्लेख गर्दै उनले त्यसलाई अघि बढाउन पहल गर्ने बताए।
बजेट पारदर्शितामा पनि जोड
मन्त्री खनालले संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन हुने बजेटबारे नागरिकलाई जानकारी गराउन आफूले सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै आएको बताए। कुन तहको सरकारले कहाँ र कति बजेट छुट्याएको छ भन्ने विषय नागरिकले थाहा पाउनुपर्ने उनको भनाइ छ। बजेट पारदर्शी हुँदा एउटै योजनामा विभिन्न तहका सरकारबाट दोहोरो बजेट विनियोजन भएको अवस्था पहिचान गर्न पनि सहज हुने उनले बताए। बजेटको प्रभावकारिता मूल्यांकन गर्ने जिम्मेवारी नागरिकको पनि रहेको उल्लेख गर्दै उनले बजेट गलत ठाउँमा विनियोजन भएको देखिए सम्बन्धित सरकारसमक्ष उजुरी गर्न आग्रह गरे। प्रदेशको बजेटसम्बन्धी विषयमा स्थानीयले उठाएका प्रश्न सम्बन्धित प्रदेशका प्रतिनिधिसमक्ष पुर्याउने प्रयास गर्ने पनि उनले बताए।