काठमाडौं । नेपाल शिक्षक महासङ्घले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको चेतावनी दिएको छ।
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरे कडा र निर्णायक संघर्षमा जान बाध्य हुने महासङ्घले जनाएको छ।महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वार्ताका क्रममा सहमति गर्ने तर त्यसलाई व्यवहारमा लागू नगर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्। यसका कारण शिक्षक तथा कर्मचारी लामो समयदेखि उही समस्या र मागका लागि संघर्ष गर्नुपरेको उनीहरूको भनाइ छ।
वर्तमान सरकारले समेत शिक्षक तथा कर्मचारीका समस्याप्रति पर्याप्त चासो नदेखाएको भन्दै महासङ्घले सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ।महासङ्घले विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानै व्यवस्थाअनुसार निवृत्तिभरण दिनुपर्ने र ऐनपछि नियुक्त हुने शिक्षकका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने माग गरेको छ। साथै, अस्थायी सेवाअवधिलाई समेत निवृत्तिभरण गणनामा समावेश गर्नुपर्ने माग अघि सारेको छ।
त्यस्तै, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले पाउँदै आएको स्थानीय भत्ता कटौती गर्ने तथा विगतमा प्राप्त भत्तालाई बेरुजु देखाएर फिर्ता गर्न लगाउने निर्णय सच्याउन महासङ्घले माग गरेको छ।विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका लागि आवश्यक दरबन्दी सिर्जना गरी पदअनुसार तलब तथा सुविधा उपलब्ध गराउनुपर्ने पनि महासङ्घको माग छ।
विगतका सहमति समेटेर नयाँ विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, तेस्रो राष्ट्रिय परिषद्बाट पारित ५४ बुँदे माग सम्बोधन गर्न र शिक्षा नियमावलीअनुसार पेस गरिएको महासङ्घको विधान स्वीकृत गर्नसमेत सरकारसँग आग्रह गरिएको छ।
