काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे शीतलनिवास पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिसँग भेट गरेको एक दिन नबित्दै आङ्देम्बेले भेटवार्ता गरेका हुन्।शुक्रबार रवि लामिछाने र प्रधानमन्त्री शाहले छुट्टाछुट्टै रूपमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए। उनीहरूले राष्ट्रपति कार्यालयमा रोकिएका तीनवटा अध्यादेश जारी गर्नुपर्ने विषयमा जोड दिएका थिए। प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए।
हाल राष्ट्रपति कार्यालयमा प्रेस काउन्सिल नेपालसम्बन्धी, जेन–जी आन्दोलनका पीडितलाई क्षतिपूर्ति तथा परिपूरण दिने व्यवस्था गरिएको र पर्यटन मन्त्रालयसँग सम्बन्धित केही कानुन संशोधन गर्ने अध्यादेश विचाराधीन छन्।सरकार र रास्वपा यी अध्यादेश तत्काल जारी गराउने पक्षमा देखिएका छन् भने प्रमुख प्रतिपक्षीसहितका दलले सरोकारवालाको असन्तुष्टिलाई ध्यानमा राख्दै संसद्बाटै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
यही विषयमा शनिबार राष्ट्रपति पौडेलसँग भएको भेटमा कांग्रेस नेता आङ्देम्बेले विवादित अध्यादेश जारी नगर्न आग्रह गरेको स्रोतले जनाएको छ। उनले राष्ट्रपति आफ्नो अडानमा कायम रहनुपर्ने भन्दै प्रतिपक्षी दलको साथ रहने विश्वाससमेत दिलाएका थिए।भेटका क्रममा इनम सापकोटा प्रकरणबारे पनि छलफल भएको बताइएको छ। आङ्देम्बेले सापकोटाको बयानलाई आधार बनाएर राजनीतिक व्यक्तित्व तथा सार्वजनिक संस्थाहरूलाई विवादमा तान्ने प्रयास भइरहेको भन्दै राष्ट्रपति कार्यालयलाई यस विषयमा सचेत रहन आग्रह गरेको स्रोतको दाबी छ।
यसअघि कांग्रेस सभापति गगनकुमार थापालाई पक्राउ गर्ने प्रयाससमेत भएको चर्चा सार्वजनिक भएको थियो। सापकोटाकी श्रीमती कविता पाण्डेले दबाबमा पारेर सार्वजनिक छवि भएका तथा उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन लगाइएको आरोपसहित राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएपछि यो विषय थप चर्चामा आएको छ।स्रोतका अनुसार राष्ट्रपति भेट्न जानुअघि आङ्देम्बेले कांग्रेस सभापति गगनकुमार थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका थिए।