काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको मुख्य शक्ति नैतिकता र जनतामाझ रहेको विश्वास भएको बताएका छन्।
उनले कांग्रेसले आफ्नो नैतिक पुँजीलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो सम्पत्ति नैतिक पुँजी रहेको उल्लेख गरेका हुन्।उनले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको राजनीतिक विरासत कांग्रेससँग रहेको बताउँदै त्यसलाई व्यवहारमा पनि कायम राख्नुपर्ने धारणा राखे।
थापाले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवन सार्वजनिक पदमा रहेकाले पारदर्शी हुनुपर्ने बताए। सरकारले आवश्यक ठाने आफू अनुसन्धानका लागि तयार रहेको उनको भनाइ थियो।पार्टीका कुनै पनि सदस्यले सभापतिकै कारण सार्वजनिक रूपमा अपमानित हुनुपर्ने अवस्था आउन नदिने जिम्मेवारी आफूले लिएको पनि उनले बताए।कांग्रेसको नैतिक शक्ति र राजनीतिक विश्वासलाई स्थानीय तहसम्म पुर्याउनुपर्नेमा जोड दिँदै थापाले गलत कामको विरोध गर्न र पार्टीका नेता–कार्यकर्तामाथि हुने अन्यायविरुद्ध आवाज उठाउन सबै तयार हुनुपर्ने बताए। साथै, कांग्रेसका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रह राखिएको उनको दाबी थियो।