काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ।
आइतबार त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएसँगै दुवै टोलीले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।सुर्खेतस्थित नेपाली सेनाको राजदल गण खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले सुरुवाती अग्रता लिए पनि जित निकाल्न सकेन। खेलको ५१औँ मिनेटमा निराजन धामीले गोल गर्दै आर्मीलाई अघि बढाएका थिए।
तर, खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गरेपछि दुवै टोली १–१ को बराबरीमा रोकिए।यसअघि नै सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।अब उपाधि यात्राका लागि हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ भने कोशी प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्नेछ।