काठमाडौं ।इनम सापकोटा प्रकरणमा दबाब र धम्की दिएर नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायतका नेताविरुद्ध बयान दिन लगाइएको आरोपबारे छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै निष्पक्ष अनुसन्धानका लागि संसदीय छानबिन समिति आवश्यक रहेको बताएका हुन्।सापकोटाले आफ्नी श्रीमतीमार्फत शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा आफूलाई थापालगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख गरेका छन्। बयान दिए रिहा गर्ने तथा नमाने फसाइदिने धम्कीसमेत दिइएको उनको आरोप छ।
आङ्देम्बेले हिरासतमा रहेका व्यक्तिलाई पूर्वनिर्धारित बयान दिन बाध्य पारिएको र तयार पारिएका कागजात पढ्न लगाइएको भन्ने आरोप सत्य भए त्यसले कानुनी शासन र राज्यका अनुसन्धान निकायको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने बताएका छन्।उनले सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएको र त्यसको दुरुपयोग भएको भनिएको विषयलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्। बयान तयार पार्ने प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिकाबारे पनि छानबिन हुनुपर्ने उनको माग छ।
अनुसन्धानकारी निकायलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने उल्लेख गर्दै आङ्देम्बेले सरकारलाई संविधान र कानुनको सीमाभित्र रहेर काम गर्न आग्रह गरेका छन्।उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा राजनीतिक विचारका आधारमा कसैलाई फसाउने नभई निष्पक्ष न्याय सुनिश्चित गर्ने व्यवस्था हुनुपर्छ।