काठमाडौं । इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले इरान र इराकबीचको आर्थिक सहकार्यमा बाह्य शक्तिले हस्तक्षेप गर्न नहुने बताएका छन्।
इराकले तेल तस्करी नियन्त्रणका लागि चालेका कदमप्रति अमेरिकाले प्रशंसा गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।राष्ट्रिय प्रसारकका अनुसार आइतबार तेहरानमा इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको भेटमा रेजाइले दुई देशबीचको आर्थिक सम्बन्धमा बाह्य पक्षबाट नकारात्मक प्रभाव पर्न दिन नहुने धारणा राखेका हुन्।यसै साता इराकी प्रधानमन्त्री अली अल–जाइदीले कुर्दिस्तान क्षेत्रका सीमा नाका र केही तेल क्षेत्रलाई सङ्घीय सरकारको नियन्त्रणमा ल्याउने प्रक्रिया अघि बढाएका छन्। तेलको अवैध ओसारपसार रोक्ने उद्देश्यले यस्तो कदम चालिएको बताइएको छ। साथै, तेहरानसँग निकट सम्बन्ध रहेका शिया सशस्त्र समूहलाई निशस्त्रीकरण गर्ने प्रयास पनि इराकले तीव्र बनाएको छ।
इराकको पछिल्लो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत समर्थन गरेका थिए। अमेरिकाले इरानले इराकमार्फत प्रतिबन्ध छल्दै तेल कारोबार गर्ने गरेको आरोप लगाउँदै आएको छ। यसअघि इरानी र इराकी तेल मिसाएर बिक्री गरेको आरोपमा केही इराकी व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्धसमेत लगाइएको थियो।इराकी सञ्चारमाध्यमले सार्वजनिक गरेका खुफिया विवरणमा उत्तरी कुर्दिस्तान हुँदै इरानतर्फ तेल ढुवानी हुने मार्गबारे उल्लेख गरिएको छ। उक्त विवरणअनुसार तेल मिसाएर अफगानिस्तानसम्म पुर्याउने गरिएको दाबी गरिएको छ।
यसैबीच, होर्मुज जलडमरूमध्यमा इरानले लगाएको प्रतिबन्धको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ। यसले इरानको तेल निर्यातमा थप दबाब सिर्जना गरेको छ। मध्यपूर्वमा जारी तनावका कारण विश्व बजारमा तेल तथा ग्यास आपूर्तिसमेत प्रभावित हुँदै आएको छ।