काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय राज्य सञ्चालनमा विवेकहीनता, अराजकता र निरंकुश प्रवृत्ति हाबी भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विगतका वर्षमा सुशासन र विकासका क्षेत्रमा भएका कामलाई समेत बेवास्ता गर्ने प्रवृत्ति देखिएको बताए । उनका अनुसार विगतमा भएका सकारात्मक कामलाई मूल्यांकन नगरी केही पनि काम नभएको जस्तो व्यवहार गर्नु राज्यको विवेकहीन र निरंकुश प्रवृत्तिको उदाहरण हो ।
प्रचण्डले आफ्नो नेतृत्वमा सरकार रहँदा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै सुशासन कायम गर्ने प्रयास गरिए पनि त्यसकै कारण आफू नेतृत्वको सरकार अपदस्थ गरिएको दाबी गरे । उनले वर्तमान सरकारको कार्यशैलीप्रति समेत असन्तुष्टि जनाउँदै सरकारका गतिविधि हेर्दा ‘हिन्दी जासुसी फिल्म’ जस्तै लाग्ने टिप्पणी गरे । सरकारले सामान्य रूपमा कल्पना गर्न नसकिने किसिमका गतिविधि देखाउन थालेको दाबी गर्दै प्रचण्डले राज्य सञ्चालनको शैलीप्रति प्रश्न उठाएका छन् ।