काठमाडाैँ । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पे यतिबेला चीनमा एउटा विवादका कारण चर्चामा छन्।
चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको एउटा टिप्पणीलाई लिएर तीव्र आलोचना गरेपछि उनले सार्वजनिक रूपमा माफी मागेका छन्। तर रोचक कुरा के छ भने, चीनमा धेरै मानिसलाई समेत उनले वास्तवमा के भनेका थिए भन्ने स्पष्ट जानकारी छैन। गत सोमबार लन्डनमा बालोन डी’ओर समारोहमा सहभागी भइरहेका बेला एम्बाप्पेको एउटा पुरानो अन्तर्वार्ताको भिडियो चिनियाँ सामाजिक सञ्जालमा फैलियो। उक्त भिडियोमा उनले आफूलाई सबैभन्दा धेरै हँसाउने इन्टरनेट मिमबारे मजाक गरेका थिए। त्यस मिममा उनको अनुहार चीनका पूर्व नेता माओत्से तुङजस्तो देखिने व्यक्तिको तस्बिरमा जोडिएको थियो। माओ चीनको कम्युनिस्ट शासनका संस्थापक हुन्, जसको शासनकालमा लाखौँ मानिसको ज्यान जाने गरी विभिन्न राजनीतिक अभियान र हिंसात्मक घटना भएका थिए।
भिडियो सार्वजनिक भएपछि चीनमा एम्बाप्पेविरुद्ध आलोचना चुलियो। चिनियाँ कम्पनीहरूले उनीसँगको व्यावसायिक सम्बन्ध क्रमशः तोड्न थाले। सरकारी सञ्चारमाध्यम चाइना मिडिया ग्रुपले स्पेनिस ला लिगाका खेलहरूको प्रसारणसमेत स्थगित गर्यो। चीनको विदेश मन्त्रालयका प्रवक्ताले चिनियाँ जनताको भावनामा चोट पुर्याउने अभिव्यक्ति र व्यवहारको सबै क्षेत्रबाट विरोध हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिए। त्यसपछि एम्बाप्पेले आफ्नो टिप्पणी सोचविचार नगरी दिएको स्वीकार गर्दै ‘हृदयदेखि माफी मागेको’ बताए। उनको क्लब रियल म्याड्रिड तथा स्पेनिस ला लिगाले पनि माफी मागेका छन्।
विश्वकै लोकप्रिय फुटबल खेलाडीमध्ये एक एम्बाप्पेले माफी मागेपछि चीन सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। तर ला लिगाका खेलको प्रसारण पुनः सुरु गर्नेबारे चाइना मिडिया ग्रुपले अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरेको छैन। यद्यपि सामाजिक सञ्जालमा उनको आलोचना रोकिएको छैन। चिनियाँ सामाजिक सञ्जाल विबोमा एक प्रयोगकर्ताले माफी माग्नु उनको न्यूनतम जिम्मेवारी भएको तर आफूले उनलाई माफ नगर्ने टिप्पणी गरेका छन्। अर्का प्रयोगकर्ताले माओ चिनियाँ जनताको भावनात्मक आधार भएको भन्दै सामान्य माफीले सबै कुरा ठीक नहुने बताएका छन्।
विवादको अर्को रोचक पक्ष के छ भने चीनमा धेरै प्रयोगकर्ताले एम्बाप्पेले वास्तवमा के भनेका थिए भनेर खोजिरहेका छन्। तर चीनको कडा इन्टरनेट नियन्त्रण र सेन्सरसिपका कारण माओको नामसमेत खुलेर उल्लेख गर्न कठिन भएको छ। चिनियाँ सामाजिक सञ्जालमा कतिपयले माओलाई ‘१०० युआनको नोटमा देखिने व्यक्ति’ वा ‘शिक्षक’ भनेर संकेत गरेका छन्। माओको नाम, ‘तानाशाह’ भन्ने शब्द र एम्बाप्पेको अनुहारसमेत धमिलो पारेर भिडियो तथा तस्बिरहरू साझा गरिएको छ। चिनियाँ इन्टरनेटमा प्रयोग हुने एआई च्याटबटहरूबाट समेत स्पष्ट जवाफ पाउन नसकेको प्रयोगकर्ताहरूको भनाइ छ।
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीलाई गृहयुद्धमा विजय दिलाएर जनवादी गणतन्त्र चीन स्थापना गरेका माओको सन् १९७६ मा निधन भएको थियो। उनको शासनकालमा ‘ग्रेट लिप फर्वार्ड’ र ‘सांस्कृतिक क्रान्ति’ जस्ता अभियान चलेका थिए। ती अभियानसँग जोडिएको भोकमरी र राजनीतिक दमनका कारण करोडौँ मानिस प्रभावित भएको तथा ठूलो संख्यामा मानिसको मृत्यु भएको इतिहास छ। तर चीनमा माओलाई अझै पनि सम्मानित व्यक्तित्वका रूपमा हेरिन्छ। बेइजिङस्थित थ्यानमेन स्क्वायरमा उनको विशाल तस्बिर राखिएको छ भने उनको शवसमेत सार्वजनिक रूपमा प्रदर्शनका लागि सुरक्षित राखिएको छ। चिनियाँ इतिहासका पाठ्यपुस्तकमा उनको शासनकालका नकारात्मक पक्षलाई तुलनात्मक रूपमा कम प्राथमिकता दिइने गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक मूल्यांकनमा उनका उपलब्धि गल्तीभन्दा बढी रहेको उल्लेख छ।
चीनमा कम्युनिस्ट पार्टीका शहीद तथा युद्धनायकको अपमान वा बदनाम गर्नुलाई कानुनी रूपमा अपराध मानिन्छ। यही संवेदनशीलताका कारण माओसँग जोडिएको मिमलाई लिएर एम्बाप्पेको टिप्पणीले ठूलो विवाद निम्त्याएको देखिन्छ। तर चीनबाहिर भने यस घटनालाई फरक दृष्टिकोणबाट हेरिएको छ। विशेषगरी चीन छाडेर विदेशमा बस्दै आएका केही नागरिक तथा सरकारका आलोचकहरूले एम्बाप्पेको समर्थन गरेका छन्। उनीहरूले माफी माग्नुपर्ने व्यक्ति एम्बाप्पे नभई चिनियाँ कम्युनिस्ट पार्टी भएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। चीनमा प्रतिबन्धित एक्स र थ्रेड्सजस्ता प्लेटफर्ममा भने यस विवादलाई लिएर थप मिमहरू बनेका छन्।
कतिपय मिममा एम्बाप्पेको अनुहार माओको तस्बिरमा राखिएको छ भने केहीमा वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको तस्बिरमा उनको अनुहार जोडिएको छ। यसैबीच, विश्वकपको आधिकारिक प्रायोजकमध्येको चिनियाँ डेरी कम्पनी मेङनियुले पनि विवादपछि एम्बाप्पेसँगको सम्बन्ध तोडेको छ। उनको चिनियाँ सामाजिक सञ्जाल विबो खातामा नयाँ प्रयोगकर्ताले फलो गर्न नमिल्ने प्रतिबन्धसमेत लगाइएको छ। यो घटनाले एउटा फुटबल खेलाडीको सामान्य ठानिएको मजाकले चीनमा कूटनीतिक, राजनीतिक र व्यावसायिक तहसम्म कस्तो प्रभाव पार्न सक्छ भन्ने देखाएको छ।