काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो र पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
भ्रष्टाचारविरुद्ध आफू सधैँ दृढ रहेको उल्लेख गर्दै उनले छानबिनबाट दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।बुधबार राप्रपा काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै लिङ्देनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग आफूले संसद्देखि नै उठाउँदै आएको बताए । उनले सबैभन्दा पहिले आफ्नै सम्पत्तिबाट छानबिन सुरु गर्न सरकारलाई आग्रहसमेत गरे ।
आफूमाथि भ्रष्टाचार प्रमाणित भए राजनीतिक जीवन त्याग्नसमेत तयार रहेको उनको भनाइ थियो । उनले विपक्षीको घरमा भाँडा माझ्न तयार रहेको अभिव्यक्ति दिँदै आफ्नो भ्रष्टाचारविरोधी अडान व्यवहारमै पुष्टि गर्न चुनौती दिएका छन् ।सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम अघि नबढ्नु शंकास्पद रहेको टिप्पणी गर्दै लिङ्देनले आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाइसकेको जानकारी दिए ।
कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनलाई मर्यादित र सफल बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेतृत्व चयन सहमतिबाट गर्नुपर्नेमा जोड दिँदै सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने उनले बताए ।महाधिवेशनका क्रममा व्यक्तिगत स्वार्थका लागि एकअर्काको आलोचना गर्ने र पार्टीको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि नगर्न उनले नेतृत्वका आकाङ्क्षीहरूलाई सचेत गराएका छन् ।