काठमाडौं ।रौतहटमा स्रोत खुलाउन नसकेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्।मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डमा उनलाई पक्राउ गरिएको हो।प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दाससँग रहेको नगद फेला पारेको थियो।
प्रहरीले उनको साथबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान गरी कुल १० लाख रुपैयाँ बरामद गरेको जनाएको छ।बरामद रकमको स्रोत खुलाउन नसकेपछि दासलाई नगदसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।