काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई रोमाञ्चक खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको सामना गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। उक्त खेलमा काठमाडौं र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दिनको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ, जहाँ सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेलमा पराजय व्यहोरेको काठमाडौं गोर्खाज आज जितको खोजीमा मैदान उत्रिनेछ। काठमाडौं आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। त्यसैले प्रतियोगितामा जितको खाता खोल्ने लक्ष्यसहित काठमाडौं मैदानमा उत्रिनेछ। यता, कर्णाली याक्स भने आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने योजनामा हुनेछ। यसअघिका दुवै खेलमा जित निकालेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ। आजको खेल जित्दै कर्णाली लगातार तेस्रो सफलता हात पार्ने लक्ष्यमा हुनेछ।
यसैगरी, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलिसकेको सुदूरपश्चिमले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। त्यसैले अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न सुदूरपश्चिमका लागि आजको खेल महत्वपूर्ण हुनेछ। अर्कोतर्फ, चितवन राइनोजले प्रतियोगितामा अहिलेसम्म अपराजित यात्रा कायम राखेको छ। पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। उक्त खेलबाट दुवै टोलीले एक–एक अंक बाँडेका थिए। आजका दुवै खेलले टोलीहरूको अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ। पहिलो खेलमा काठमाडौंले जितको खाता खोल्ला वा कर्णालीले आफ्नो अपराजित यात्रा कायम राख्ला भन्ने चासो छ भने दोस्रो खेलमा सुदूरपश्चिमले पुनरागमन गर्ला वा चितवनले अपराजित लयलाई निरन्तरता देला भन्ने प्रतीक्षा रहनेछ।