काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले १८७ रनको लक्ष्य एक बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो। कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन बनाए। उनले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे। सुरुवातमै लगातार विकेट गुमाएर दबाबमा परेको कर्णालीलाई सोमपालले सम्हाल्दै जितसम्म पुर्याए।
सोमपालले गुल्सन झासँग सातौं विकेटका लागि अविजित ६४ रनको महत्त्वपूर्ण साझेदारी गरे। गुल्सनले २१ बलमा नटआउट २८ रन बनाए। अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक हुँदा कर्णालीले धैर्यपूर्ण ब्याटिङ गर्दै लक्ष्य पूरा गर्यो। यसअघि सोमपालले पवन सर्राफसँग छैटौं विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। पवनले २८ बलमा ३६ रन बनाए। कर्णालीका प्रारम्भिक ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली सुरुवातमै दबाबमा परेको थियो। मार्क वाट १, दीपक डुम्रे २०, अक्बर अली १ र अरिफुल इस्लाम ३२ रनमा आउट भए। हुसेन तलतले खाता खोल्न सकेनन्।
विराटनगरका एन्जेलो म्याथ्युजले सर्वाधिक ३ विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा ८७ रन बनाए। उनले ३ चौका र ९ छक्का प्रहार गरे। लोकेश एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने अवसरबाट १३ रनले चुके। उनी १६औं ओभरमा सोमपाल कामीको बलमा आउट भए। चौथो विकेटका लागि लोकेश र एन्जेलो म्याथ्युजले ६७ रनको साझेदारी गरेका थिए। एन्जेलोले २२ बलमा ३१ रन बनाए।
विराटनगरका इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए। आन्द्रे रसेलले १५ बलमा २७ रन बनाए भने बसिर अहमदले १३ रन जोडे। सुजन थपलिया अविजित रहे। बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। उनले लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गरे। मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए। एनपीएलअन्तर्गत शुक्रबार भने कुनै खेल राखिएको छैन।