काठमाडौं ।पर्सा प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइएका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक सामग्री नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी टोलीले विभिन्न मिति तथा स्थानमा गरेको जाँचका क्रममा ती सामग्री बरामद गरेका थिए ।प्रहरी प्रवक्ता चक्रबहादुर मल्लका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य ७ लाख रुपैयाँ रहेको छ । बुधबार सञ्चारकर्मीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर पानीसहित पुरेर ती सामग्री नष्ट गरिएको उनले जानकारी दिएका छन् ।
चाडपर्वको समयमा अवैध रूपमा पटाका तथा विस्फोटक पदार्थ भित्र्याउने र बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी तथा जाँचलाई थप कडा बनाएको जनाएको छ ।