काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुईवटा रोमाञ्चक खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदा अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। आज दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ। जारी प्रतियोगितामा तीन खेल खेलेको विराटनगरले एक जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको छ। विराटनगरले सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने चितवन राइनोज र कर्णाली याक्ससँग हार व्यहोरेको थियो।
अर्कोतर्फ जनकपुर बोल्ट्सले तीन खेलबाट दुई जित र एक हारसहित राम्रो सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई हराउँदै आफ्नो लय समातेको छ। आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति थप बलियो बनाउने लक्ष्यमा जनकपुर रहनेछ भने विराटनगर पनि जितको खोजीमा मैदान उत्रिनेछ। यस्तै, आजै दिउँसो ४ः३० बजे दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित र अर्को खेलमा वर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको छ। लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवन राइनोजसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीले अंक बाँडेका थिए।
यता पोखरा एभेन्जर्स भने सुरुवाती दुवै खेलमा पराजित भएको छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। लगातार दुई हार बेहोरेको पोखरा आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा हुनेछ। यता लुम्बिनी पनि अर्को जित हात पार्दै आफ्नो स्थिति बलियो बनाउने दाउमा मैदान उत्रिनेछ। आजका दुवै खेलले टोलीहरूको अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।