काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
शनिबार वर्षाका कारण प्रभावित भएको खेलतालिकापछि आइतबार भने मौसम अनुकूल बनेसँगै निर्धारित समयमै खेल सञ्चालन हुने भएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ। घाम लागेपछि वर्षाले भिजेको मैदान सुकिसकेको छ। शनिबारको खेलमा चोभारतर्फको एउटा फ्लडलाइटमा समस्या देखिए पनि आइतबारको खेलअघि उक्त समस्या समाधान गरिएको प्रतियोगिता संयोजक एवं नेपाल क्रिकेट संघका सदस्य धीरेन्द्र साउदले बताएका छन्।
जनकपुरले प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्दैछ भने पोखराका लागि यो दोस्रो खेल हुनेछ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो।तर, आजको खेलमा जनकपुरका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन साह सहभागी हुने छैनन्। पाकिस्तान क्रिकेट बोर्डबाट आवश्यक अनापत्ति प्रमाणपत्र एनओसी नपाएको र तोकिएको २५ हजार अमेरिकी डलर शुल्क भुक्तानीको विषय नमिलेपछि उनीहरू स्वदेश फर्किएको विवरणमा उल्लेख छ।
यता पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। त्यसैले कप्तान कुशल भुर्तेलसहित पोखराका खेलाडी आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन्।शनिबार चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल वर्षाका कारण रद्द भएको थियो। विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल भने ढिलो गरी राति सञ्चालन गरिएको थियो।