काठमाडौं ।सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी परिवर्तन गरिएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले आवश्यक निर्णय लिनुपर्ने भन्दै पार्टीबाट समेत निर्देशन आएको जानकारी दिए ।उनका अनुसार सोही निर्देशन र परिस्थितिलाई ध्यानमा राख्दै कार्कीको जिम्मेवारी हेरफेर गरिएको हो । प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी विषयमा सल्लाह, सुझाव र परामर्श दिने विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी पनि उत्तिकै संवेदनशील रहेको उनले बताए ।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने र रिक्त हुने प्रहरी महानिरीक्षक पदमा एआईजी मनोज केसीलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्री पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको, केवल जिम्मेवारी परिवर्तन गरिएको स्पष्ट पारेका छन् ।