काठमाडौं ।परराष्ट्र सचिव अमृतबहादुर राई र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।वार्ताका क्रममा दुई देशबीच उच्चस्तरीय भ्रमणको निरन्तरता, सम्पर्क सञ्जालको विस्तार, व्यापार, विकास साझेदारी, ऊर्जा क्षेत्रको सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको थियो ।नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन् । साथै, आपसी हित र साझा सहकार्यका क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश सचिव मिस्री परराष्ट्र सचिव राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन् ।