काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड दुवैले हार बेहोरेका छन्।
शनिबार भएका खेलमा सिटीलाई ब्राइटनले १–० गोलले पराजित गर्दा चेल्सीले युनाइटेडमाथि २–० को जित निकालेको हो।काराबाओ कपमा बुधबार पेनाल्टी सुटआउटमा सिटीसँग पराजित भएको ब्राइटनले प्रिमियर लिगमा भने उत्कृष्ट पुनरागमन गरेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले एक गोलको अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हासिल गर्यो।खेलको ११औँ मिनेटमा यासिन आयारीले गरेको गोल नै ब्राइटनको जितका लागि निर्णायक बन्यो। सिटीका डिफेन्डर माटेउस नुनेसले बल क्लियर गर्ने क्रममा गरेको गल्तीको फाइदा उठाउँदै आयारीले नजिकैबाट जाली चुमाएका थिए।
घरेलु मैदानमा पछि परेको सिटीले बराबरी गोल फर्काउन निरन्तर प्रयास गरे पनि सफल हुन सकेन। ब्राइटनका गोलरक्षक बार्ट भेर्ब्रुगेनले विपक्षी टोलीका आक्रमण रोक्दै आफ्नो पोस्ट सुरक्षित राखे। उनले इलिमान एनडियायका खतरनाक प्रहारसमेत विफल पारेका थिए।सिटीका एर्लिङ हालान्डले पनि गोल गर्ने अवसर पाए। तर, ब्राइटनको बलियो रक्षापंक्ति र गोलरक्षकको प्रदर्शनका कारण सिटीले गोल गर्न सकेन। यो जितसँगै ब्राइटनले अंकतालिकामा सिटीसँगको दूरी दुई अंकमा सीमित गरेको छ।
यता, अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ। पछिल्लो समय खराब नतिजाबाट गुज्रिरहेको युनाइटेडका लागि यो हार थप निराशाजनक बनेको छ।खेलको पहिलो हाफमा युनाइटेडले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। म्याथ्युज कुन्हाले गरेको गोललाई भीएआर परीक्षणपछि अफसाइड ठहर गर्दै रद्द गरिएको थियो। ब्रुनो फर्नान्डेज र अमाद डियालोले पनि गोलको प्रयास गरेका थिए।
दोस्रो हाफमा भने चेल्सीले खेलमा पकड जमायो। खेलको ५०औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको १४ मिनेटपछि चेल्सीले पेनाल्टी पायो।चेल्सीका वेस्ली फोफानामाथि लिसान्द्रो मार्टिनेजले गरेको फाउलपछि भीएआरको सहायतामा रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त घटनामा दोस्रो पहेँलो कार्ड पाएपछि मार्टिनेज मैदानबाट बाहिरिए। प्राप्त पेनाल्टीलाई कोल पाल्मरले गोलमा परिणत गर्दै चेल्सीको अग्रता २–० बनाए।
एक खेलाडी कम भएपछि युनाइटेडले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। चेल्सीका एस्टेभाओले गरेको अर्को गोल भने अफसाइडका कारण मान्य भएन। इन्जुरी समयमा ब्रायन एम्बेउमोको प्रहार क्रसबारमा लागेपछि युनाइटेडले गोल गर्ने अवसरसमेत गुमायो।यस हारसँगै युनाइटेड सबै प्रतियोगिता मिलाएर लगातार नौ खेलमा जितविहीन बनेको छ। सन् १९८८ पछिको यो क्लबको सबैभन्दा खराब नतिजाको शृङ्खला भएको बताइएको छ। प्रिमियर लिगमा चौथो हार बेहोरेको युनाइटेड १६औँ स्थानमा झरेको छ। रेलिगेसन क्षेत्रभन्दा एक अंक मात्र माथि रहेको टोलीमाथि दबाब बढेको छ।चेल्सी भने जितसँगै प्रिमियर लिगको अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ।