काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिका–३ भाडगाउँमा एक महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् ।
बुधबार बिहान स्थानीय ३७ वर्षीया तारा बस्नेतको शव भीरमा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार धुर्कोट गाउँपालिका–६ स्थायी घर भई हाल तम्घास बस्दै आएकी बस्नेत मृत अवस्थामा भेटिएकी हुन् ।प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा उनी सडकबाट खसेर भीरमा अड्किएको हुन सक्ने देखिएको छ । यद्यपि घटनाको वास्तविक कारण भने थप अनुसन्धानपछि खुल्नेछ ।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । भीरमा अड्किएको शव निकाल्ने कार्य भइरहेको र त्यसपछि पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ ।