काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रहेका नेपालीको समस्या, आवश्यकता र उनीहरूको सम्भावनालाई बुझेर राज्यले नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताएकी छन् ।
बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै भण्डारीले प्रवासी नेपालीले मुलुकको अर्थतन्त्रमा विप्रेषणमार्फत मात्रै नभई ज्ञान, सीप, प्रविधि, अनुभव र उद्यमशीलतामार्फत पनि महत्त्वपूर्ण योगदान दिन सक्ने बताएकी हुन् ।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन सहज बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप र कार्यअनुभवलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि तथा सेवा क्षेत्रमा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
विदेशमा बस्ने नेपालीले आफ्नो व्यवहार र कार्यशैलीबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान स्थापित गर्न सक्ने उनको भनाइ थियो । आफू बसेको देशको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी, मेहनत र व्यावसायिक दक्षताका साथ काम गर्न उनले प्रवासी नेपालीलाई आग्रह गरिन् । साथै, नेपाल र आफू बसेको मुलुकबीच आपसी सम्बन्ध, मित्रता र सहकार्य विस्तारमा पनि उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् । श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या अझै कायम रहेको भन्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्ने उनको धारणा थियो ।
श्रमिकको अधिकार सुनिश्चित गर्न रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गर्नुपर्ने, उचित पारिश्रमिक, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने उनले बताइन् । विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन् ।
मुलुकभित्रै रोजगारी सिर्जना गर्न जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार, खनिजमा आधारित उद्योग र पर्यावरणमैत्री पर्यटनको विकास गर्न सकिने भण्डारीको भनाइ थियो । यस्ता क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्नुपर्ने उनले बताइन् ।
प्रवासी नेपालीको पुँजी, सीप, ज्ञान र उद्यमशीलतालाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना तथा प्रविधि हस्तान्तरणमा उपयोग गर्नुपर्ने उनको सुझाव थियो । त्यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।
यसैबीच, भण्डारीले नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा सामाजिक–आर्थिक रूपान्तरणमा पुर्याएको योगदानबारे तथ्यका आधारमा जानकारी प्रवाह गर्नुपर्ने बताइन् । पार्टीबारे फैलाइने भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो ।
विदेशमा रहेका नेपाली समुदायलाई नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलका गतिविधिबारे सही सूचना उपलब्ध गराउँदै स्वस्थ तथा तथ्यपरक बहसको वातावरण बनाउन पनि उनले आग्रह गरिन् ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । समापन समारोहलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।