काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा सरकारका पछिल्ला गतिविधिबारे निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
सरकारले विधिको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप गरेको कांग्रेसको आरोप छ।सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारलाई पक्राउ गरिएको घटनासहित सरकारसँग सम्बन्धित विवादित विषयको छानबिनका लागि संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको हो।बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि नहुने बताएका छन्। उनका अनुसार पछिल्लो समय सरकारले गरेका कामकारबाहीले नागरिक स्वतन्त्रता, सञ्चारमाध्यमको स्वतन्त्रता, संवैधानिक निकायको स्वायत्तता र कानुनी शासनको अवस्थाबारे प्रश्न उठाएको छ।
कांग्रेसले समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनालाई विशेष रूपमा उठाएको छ। पक्राउको कानुनी आधार, आवश्यक पुर्जी वा अदालतको अनुमति स्पष्ट नभई पत्रकारलाई नियन्त्रणमा लिइएको भन्दै पार्टीले आपत्ति जनाएको छ।नेता आङदेम्बेले कानुनी प्रक्रिया पूरा नगरी समाचार कक्षमा प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको दबाब भएको टिप्पणी गरेका छन्। यस विषयमा सरकारले संसद् र नागरिकसमक्ष जवाफ दिनुपर्ने उनको भनाइ छ।
उनले सरकारले कानुनी प्रक्रिया पालना नगर्ने र आफ्ना गतिविधिबारे जवाफदेही नहुने प्रवृत्ति देखाएको आरोपसमेत लगाए। यस्ता गतिविधिले संवैधानिक व्यवस्था र शक्ति सन्तुलनमा असर पार्न सक्ने कांग्रेसको धारणा रहेको उनले बताएका छन्।कांग्रेसले पत्रकार पक्राउ प्रकरणसँगै सरकारसँग जोडिएका विवादित घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग दोहोर्याएको छ। छानबिनबाट दोषी देखिने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने पनि पार्टीको माग छ।
सरकारले सुशासन र जनसरोकारका विषयमा गर्ने सकारात्मक काममा सहयोग गर्ने तर विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका गतिविधि भए प्रतिवाद गर्ने कांग्रेसले जनाएको छ।