काठमाडौं । भेनेजुएलाको सेनाले कोलम्बियाली वामपन्थी विद्रोही समूह नेसनल लिबरेसन आर्मी ईएलएन को शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको दाबी गरिएको छ।
फन्डारेड्स नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको विवरणअनुसार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरलाई लक्षित गरी शुक्रबार सैन्य कारबाही गरिएको थियो।संस्थाका निर्देशक जेभियर टाराजोनाले एएफपीसँग कुरा गर्दै आक्रमणमा कम्तीमा नौ जना मारिएको जानकारी दिएका छन्। उनका अनुसार संस्थाले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा शवहरू छरिएको, रुखहरू ढलेको र शिविर रहेको अनुमान गरिएको क्षेत्रमा भग्नावशेष देखिएको छ।
टाराजोनाका अनुसार संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेका थिए। सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुएलामा यस प्रकारको आक्रमण भएको यो पहिलो घटना भएको उनको दाबी छ।यसैबीच, मानव अधिकारकर्मी तथा सैन्य मामिलाकी जानकार रोसियो सान मिगुएलले अपुरे राज्यका स्थानीय बासिन्दाबाट थप जानकारी प्राप्त भएको बताएकी छन्। उनका अनुसार स्थानीयले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन्। यद्यपि, उक्त विवरण स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
भेनेजुएला सरकारले भने घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
सन् २०१६ मा कोलम्बियाली सरकार र रिभोलुसनरी आर्म्ड फोर्सेस ९फार्क–एफएआरसी० बीच शान्ति सम्झौता भएपछि ईएलएन कोलम्बियाको प्रमुख विद्रोही शक्तिका रूपमा रहँदै आएको छ। कोलम्बिया र भेनेजुएलाबीच करिब दुई हजार किलोमिटर लामो सीमा जोडिएको छ। सीमावर्ती क्षेत्रमा विभिन्न विद्रोही समूह सक्रिय छन्।शान्ति सम्झौता अस्वीकार गरेका फार्कका केही समूहले लागूऔषध तस्करी र अवैध खानी सञ्चालनमाथि नियन्त्रण कायम गर्न एकअर्कासँग संघर्ष गर्दै आएका छन्। कोलम्बियाली सरकारले विगतदेखि नै भेनेजुएलामाथि आफ्नो भूमिमा सक्रिय विद्रोही समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ।यस घटनाले कोलम्बिया–भेनेजुएला सीमावर्ती क्षेत्रमा विद्रोही गतिविधि र सुरक्षा चुनौतीबारे पुनः चासो बढाएको छ।