काठमाडाैँ । जर्मनीमा बढ्दो महँगी र सार्वजनिक सेवामा बजेट कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ।
शनिबार राति देशको वित्तीय केन्द्र फ्रान्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा तोडफोड र लुटपाट गरेका छन्। फ्रान्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि प्रदर्शनका क्रममा झडप भएको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि पटाका, ढुंगा र बोतल प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भिड नियन्त्रणमा लिएको थियो। दिनभर भने हजारौँ युवा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका थिए। ‘जेनजी आफैँ अघि बढ्छ’ अभियानको आयोजनामा भएको प्रदर्शनमा विद्यालय तथा शिक्षा क्षेत्रमा पर्याप्त बजेट, जीवनयापनको बढ्दो खर्च, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोध गरिएको थियो।
आयोजकले ठूलो संख्यामा मानिस सहभागी भएको दाबी गरे पनि फ्रान्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीले करिब १८ हजार प्रदर्शनकारी उपस्थित भएको बताएका छन्। फ्रान्कफर्टमा पसलका सिसा फुटाइएको, केही पसलमा चोरी भएको र एक हतियार पसलमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ। घटनामा धेरै जना पक्राउ परेका छन्। हेस्से राज्यका आन्तरिक मामिलामन्त्री रोमन पोसेकले फ्रान्कफर्टको प्रदर्शनमा करिब एक सय जना वामपन्थी अतिवादी घुसेको आरोप लगाएका छन्। रातभर तनावपूर्ण बनेको अवस्था आइतबार बिहानसम्म शान्त भएको प्रहरीले जनाएको छ।
कोलोनमा प्रहरीमाथि बोतल र साइकल प्रहार भएको थियो भने बर्लिनमा २७ जना प्रहरी घाइते भएका र ५६ जनालाई केही समय नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ह्याम्बर्गमा पनि आगजनी र तोडफोडका घटना भएका छन्। त्यहाँ १ सय २० जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। जर्मनीमा भएको प्रदर्शनसँगै शनिबार फ्रान्समा पनि जीवनयापनको महँगी र कमजोर सार्वजनिक सेवाको विरोधमा ३ लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए। त्यहाँका विभिन्न सहरमा झडप भएपछि ५ सय भन्दा बढी पक्राउ परेका छन्। इटाली र पोर्चुगलमा पनि प्रदर्शन भएका छन्। पछिल्लो समय फ्रान्स, बेल्जियम, आयरल्यान्ड, स्पेन, पोर्चुगल, इटाली, ग्रीस, सर्बिया र अल्बानियालगायत युरोपेली देशमा विशेषगरी युवाहरू सडकमा उत्रिरहेका छन्। देशअनुसार माग फरक भए पनि महँगी, आवासको समस्या, शिक्षाको गुणस्तर र सार्वजनिक सेवामा बजेट कटौती उनीहरूका साझा चासोका विषय बनेका छन्।