काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा नक्कली आईडी बनाएर स्थानीय व्यक्तिहरूका फोटो तथा भिडियो दुरुपयोग गरी अश्लील सामग्री प्रसारण गरेको आरोपमा सिरहाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवले परिवारका सदस्यसहित गाउँका अन्य व्यक्तिहरूका तस्बिर तथा भिडियो प्रयोग गरेर नक्कली टिकटक खाता सञ्चालन गरेको आरोप छ । उक्त खातामार्फत तस्बिर तथा भिडियोमा अश्लील गीत जोडेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो । यसरी सामग्री प्रसारण गर्दा आफ्नो चरित्रमा आँच पुगेको र व्यक्तिगत गोपनीयतासमेत उल्लङ्घन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट नक्कली टिकटक आईडी बनाई फोटो तथा भिडियोमा अश्लील गीत जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् । यादवलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।