काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी दल, संसद्, आम नागरिक र सञ्चारमाध्यमप्रति असहिष्णु व्यवहार देखाएको आरोप लगाएका छन्।
सरकारका गतिविधि क्रमशः स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ।सोमबार सिंहदरबारमा आयोजित कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै पौडेलले सरकार संविधान र कानुनी व्यवस्थाको मर्मविपरीत अघि बढिरहेको बताएका हुन्। उनले राज्यका संवैधानिक निकायलाई समेत कमजोर बनाउने गरी सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन्।बैठकमा पौडेलको भनाइ उद्धृत गर्दै एक सांसदले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै संविधान र कानुनको बेवास्ता भइरहेको बताएका थिए।
सरकारका निर्णय तथा कार्यशैलीमाथि संसद्मा प्रभावकारी ढङ्गले प्रश्न उठाउनुपर्नेमा जोड दिँदै पौडेलले अन्य प्रतिपक्षी दलसँग समेत सहकार्य आवश्यक रहेको बताएका छन्। यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक तत्काल बोलाउन कांग्रेसले माग गर्नुपर्ने उनको धारणा थियो।त्यसैगरी, अदालतमा न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्वसमेत जोडिएको भनिएको ‘सेटिङ प्रकरण’ को निष्पक्ष छानबिन हुनुपर्ने माग उनले गरेका छन्।उक्त प्रकरणको अनुसन्धान सरकारबाट मात्रै निष्पक्ष हुनेमा आशङ्का व्यक्त गर्दै पौडेलले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।